समाचार

राजाको तस्विर अंकित नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ : शेखरजंग रायमाझी

नेपाल सरकारले राष्ट्र बैंक मार्फत राजाहरुको तस्बिर अङ्कित नेपाली नोटमा यतिबेला प्रतिबन्ध लगाएको छ । यो समय देशको भूमि अतिक्रमण भएको र नेपाली जनमानस आफ्नो भूमि छिमेकी राष्ट्रले हडपेको हुनाले आहत छन् र प्रतिक्रिया स्वरूप आन्दोलित छन् ।
ठिक अहिले नै बिश्वव्यापी महाव्याधि कोरोना विश्वभर महासंक्रमणको रुप लिइरहेको छ । यो क्रमशः हाम्रो मुलुकमा पनि सल्किएको छ ,हजारौ नेपाली संक्रमित भएका छन् र रोग बढ्दो छ । यही रोगको कारणले विश्वव्यापी मन्दी शुरु भएको छ । अनि पचासौँ लाख नेपाली पनि बेरोजगार भएका छन् । परनिर्भर अर्थतन्त्रका कारण मुलुकमा उत्पादन र रोजगारी शून्यप्रायः पारियो, फलस्वरुप खाद्यान्न संकट सन्निकट देखिँदै छ ।

समाजवाद उन्मुख भनिएको अर्थतन्त्रले बिपन्न र श्रमजीवीलाई गिज्याइरहेको छ । आजै काम गरेर भोक टार्नेहरु सडकमा आँसु चुहाउँदै, पसिना बगाउंदै भौतारिएका बग्रेल्ती भेटिन्छन् । विश्व स्वास्थ्य संगठनले रोग परीक्षण, ट्रेसिङ्ग, क्वारेन्टाइन, आइसोलेसन भनेपनि दुई तिहाईको कम्युनिष्ट सरकारले स्वत्वहीन लकडाउन बाहेक पर्याप्त सजगता अपनाएको देखिदैन ।अचेतन र अविकसित समाज रहेको हाम्रो नागरिकलाई प्रयाप्त सचेतनाको प्रयास पनि गरिएका छैनन् । जानकारहरू भित्रभित्रै भुसको आगो जस्तो रोग सल्किएको अनुमान गरिरहेका छन् ।

सरकारले न समयमा परीक्षण सामग्री, न चिकित्सक स्वास्थ्यकर्मी, न पीपीई बन्दोबस्त गरिरहेको छ, न गुणस्तरीय परीक्षण सामग्री न औषधिको बन्दोबस्त गरिरहेको छ । अझ कमिसन र कमाउनको चक्करमा जनस्वास्थ्यमा खेलबाड गर्दै जग हसाइँ गरेको देखियो । प्रधानमन्त्री छिमेकी मुलुकहरुसंग कुटनीतिक कौशलताको साटो छुद्रता प्रकट गरिरहेका छन् । राज्य संचालनको तौरतरिका बेढङ्गको छ । नागरिकको माथामा भयानक ऋणको भार पारेका छन् । अचाक्ली उच्च करको बोझ थामी नसक्नु छ । महंगी, अभावले जनता आक्रान्त छन् ।

अब अव्यबस्थित लकडाउनले जकडिएका नागरिक कुनैपनि बेला ज्वालामुखी जस्तो बिद्रोहको विस्फोट हुने संकेत देखा परिसकेको छ । यो आँधीबेहरी आउने वा विस्फोटन हुने भन्दा पहिलेको मुर्दा शान्ति हो । तसर्थ यो भयानक प्रलयबाट मुलुक र मुलुकवासीको रक्षा र उनीहरुको भाग्य र भविष्यको लागि सम्पूर्ण नेपाली ऐक्यबद्ध हुन अपरिहार्य छ ।

यो राष्ट्रको निर्माता, अभिभावक, नेपाली माटोमा सदासर्वदा समर्पित सदाचारी राजा ज्ञानेन्द्र र हामी देशभक्त राष्ट्रवादी शक्ति ,बृहत राष्ट्रिय एकताको पक्षमा छौं । तर राजाको तस्विर अंकित नोट प्रतिबन्ध गर्ने निर्णय नेपाली स्वार्थ भन्दा विपरित छ । यो नेपाली जनताको बृहत राष्ट्रिय एकताको चाहना र भावनामा कडा प्रहार हो, आक्रमण हो । जय देश जय राष्ट्रवाद
शेखरजंग रायमाझी ।

Comment here