धर्म सस्कृति

वेद के हो, किन पढ्ने ?

संसारकै प्रथम धर्मग्रन्थको रुपमा हिन्दूधर्मको वेदलाई मानिन्छ । सनातन धर्मको वेदको आधारमा संसारमा अन्य धर्मको उत्पत्ति भएको र उनीहरुले वेदमा भएको ज्ञानलाई नै आफू अनुकुल भिन्न–भिन्न भाषामा व्याख्या गर्दै प्रचलित गरेको मानिन्छ ।

भगवानले ऋषिमुनीलाई सुनाएको ज्ञानको आधारमा वेद लेखिएको हो । त्यसैले वेदलाई श्रुति भनिन्छ । वेदको अर्थ ज्ञान हुन्छ । वेद पुरातन ज्ञान–विज्ञानको अथाहा भण्डार हो ।

वेदमा मानव जीवनको हर समस्याको समाधान उल्लेख छ । वेदहरुमा ब्रह्मा (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीतिरिवाज आदि सबै विषयसँग सम्बन्धित ज्ञानले भरिएको पाइन्छ ।

हिन्दू धर्मका मुख्य वेदका रुपमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद रहेका छन् । शतपथ ब्राह्मणको श्लोकअनुसार अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरेर चार वेद प्राप्त गरेको उल्लेख छ । तीन वेद (ऋग्वेद, यजुर्वेद र सामवेद)लाई अग्नि, वायु, सूर्य (आदित्य) र अथर्ववेदलाई अंगिराबाट उत्पन्न भएको मानिन्छ । वेदलाई सबैभन्दा प्राचिन पुस्तक मानिन्छ । त्यसैले कुनै पनि व्यक्ति तथा स्थानको नाम वेदहरुसँग सम्बन्धित राखिनु स्वभाविक हो । रामायाण, महाभारत आदिमा आएको शब्दबाट आजको समयमा पनि मानिस तथा स्थानको नामाकरण हुने गर्दछ ।

मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेजको रुपमा वेदलाई लिइन्छ । वेदहरुको २८ हजार पाण्डुलिपी भारतको पुणेस्थित ‘भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युट’मा सुरक्षित राखिएको छ । यसमा ऋग्वेदको ३० पाण्डुलिपी अत्यन्तै महत्वपूर्ण रहेको बताइन्छ । यसलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यूनेस्कोले ऋग्वेदको १८०० देखि १५०० ईशा पूर्वको ३० पाण्डुलिपीलाई सांस्कृतिक धरोहरको सूचीमा राखेको हो ।

वेदहरुको उपवेदः

ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् ।

वेदको चार विभाग

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग–स्थिति, यजु–रुपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋकलाई धर्म, युजःलाई मोक्ष, सामलाई काम, अथर्वलाई अर्थ पनि भनिन्छ । यसैको आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना गरिएका हुन् ।

१. ऋग्वेदः

ऋक अर्थात स्थिति तथा ज्ञान । ऋग्वेदलाई सबैभन्दा पहिलो वेदको रुपमा मानिन्छ । यो वेद पद्यात्मक छ । यसको १० मण्डल (अध्याय) मा १०२८ सुक्त रहेको छ । जसमा ११ हजार मन्त्र छ । यो वेदको ५ शाखा रहेका छन् । शाकल्प, वास्कल, अश्वलायन, शांखायन र मन्डुकायन पाँच शाखा हुन् । यसमा भौगोलिक स्थिति र देवताहरुको आह्वानसम्बन्धी मन्त्रहरुका साथै अन्य थुप्रै ज्ञान पाइन्छ । ऋग्वेदको ऋचामा देवताको प्रार्थना, स्तुति र देवलोकमा उनीहरुको स्थितिको वर्णन गरिएको छ । यसबाट जल चिकित्सा, वायु चिकित्सा, मानस चिकित्सा तथा हवनद्वारा चिकित्सा आदिको जानकारी प्राप्त गर्न सकिन्छ । ऋग्वेदको दशौँ मण्डलमा औषधि सुक्त अर्थात जडिबुटीबारे जानकारी पाइन्छ । यसमा १२५ भन्दा बढी औषधिबारे ज्ञान छन् । जसलाई एक सय ७ स्थानमा पाइन्छ । औषधिमा सोमको विशेष वर्णन गरिएको छ । ऋग्वेदमा च्यवनऋषिको पुनः युवा अवस्थामा फर्काइएको कथा पनि छ ।

२. यजुर्वेदः

यजुर्वेदको अर्थ, यत् + जु = यजु । ‘यत्’को अर्थ गतिशील तथा ‘जु’ को अर्थ आकाश हुन्छ । यसका साथै कर्म, श्रेष्ठतम कर्मको प्रेरणा, यजुर्वेदको यज्ञको विधि तथा यज्ञमा प्रयोग हुने मन्त्र यो वेदमा उल्लेख छ । यज्ञका साथै तत्व ज्ञानको वर्णन पनि यजुर्वेदमा छ । तत्व ज्ञान अर्थात रहस्यमयी ज्ञान । ब्राह्मण, आत्मा, ईश्वर तथा पदार्थको ज्ञान रहेको यो वेद गद्यमा लेखिएको छ । यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र पाइन्छ । यस वेदको दुई शाखा शुक्ल र कृष्ण हुन् ।

कृष्णः वैशम्पायन ऋषिको सम्बन्ध कृष्णसँग रहेको उल्लेख छ । कृष्णको पनि चार शाखा छन् ।

शुक्लः याज्ञवल्क्य ऋषिको सम्बन्ध शुक्लसँग रहेको मानिन्छ । शुक्लको दुई शाखा छन् । यसमा ४० अध्याय रहेको छ । यसका साथै दिव्य वैद्य तथा कृषि विज्ञानको सबै विषय यसमा रहेका छन् ।

३. सामवेदः

सामको अर्थ रुपान्तरण तथा संगीत हुन्छ । सौम्यता र उपासना पनि हुन्छ । यो वेद ऋग्वेदको ऋचाहरुको संगीतमय रुप पनि हो । सामवेद संगीतात्मक अर्थात गीतको रुप हो । यस वेदलाई संगीत शास्त्रको मूलको रुपमा लिइन्छ । १८२४ मन्त्र भएको यो वेदमा ७५ मन्त्रलाई छोड्ने हो भने बाँकी सबै मन्त्र ऋग्वेदबाट लिइएको पाइन्छ । यसमा सविता, अग्नि, इन्द्र देवताको बारेमा विशेष उल्लेख गरिएको छ । यो वेदमा तीन शाखा र ७५ ऋचा छन् ।

४. अथर्ववेदः

थर्वको अर्थ कम्पन र अथर्वको अर्थ अकम्पन हुन्छ । ज्ञानभन्दा श्रेष्ठ कर्म गर्दै जो परमात्माको उपासनामा लिन हुन्छ, त्यसले अकम्प बुद्धि प्राप्त गरी मोक्ष धारण गर्छ । यस वेदबाट रहस्मयी विद्या, जडिबुटी, चमत्कार तथा आयुर्वेद आदिको ज्ञान पाइन्छ । यसको २० अध्यायमा ५६८७ मन्त्र पाइन्छ । यसको आठ खण्ड रहेको छ, जसमा भेषज वेद तथा धातु वेद दुवै नाम पाइन्छ ।

Comment here