फिचरमनोरञ्जन

प्रकाश सपुतको गलबन्दीले संसदमा पनि पायो स्थान, शम्भु राई बिरुद्ध गर्जिए सांसद

काठमाडौं-  हालै अत्यधिक चर्चाको शिखरमा रहन सफल भईरहेको ‘गलबन्दी’ बोलको गीतले आज संसदमा प्रवेश पाएको छ ।गायक प्रकाश सपूत तथा गायिका सपनाश्री परियारद्वारा गायिएको उक्त चर्चित ‘गलबन्दी’ बोलको गीतलाई अहिले अर्कै गीतको लय चोरि गरिएको भन्दै अपशब्द बोल्दै सामाजिक संजालमा गालीगलौच गर्ने माथि साईबर कानून बमोजिम कारबाहीको माग भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले यस्तो माग गरेका हुन् । उनले दलित भएकै कारणले जातीय भेदभावका दृष्टिले उक्त गीत तथा गायकलाई अपमान गर्न खोजिएको भन्दै दोषी माथि कडा कारबाहीको माग गरेका हुन् ।सांसद विश्वकर्माले कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई थारु भएकै कारणले अस्पतालमा उपचारत अवस्थामा समेत नेल लगाएर उपचार गरिएको भन्दै सो कुरा प्रति पनि सभाामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै आजको विशेष समयमा सत्तापक्षीय दल नेकपा(नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा कम अंक ल्यााउने परिक्षार्थीलाई अंक थपेर स्वर्णपदकको शिफारिस गरिएको भन्दै सभामुख मार्फत सदन तथा सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । उनले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका बारेमा आजैका छापामा आएको समाचार तर्फ संसद्को ध्यानाकर्षण समेत गराए ।

सांसद सापकोटाले भने– “भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिन सक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।”विशेष समयमा राजपाका सांसद एकवाल मियाँले जनयुद्ध गर्ने नेताहरु अहिले संसदमा रहेका र थरुहट आन्दोलनका आन्दोलनका अहिले जेलमा रहेका भन्दै सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक विरुद्धको आन्दोलन वि.सं २०६२÷२०६३ पछिको ठूलो आन्दोलनका रुपमा अघि बढेकाले त्यसमा भएका सबै गलत विषयहरु खारेज हुनु पर्ने माग गरेका छन् ।
सांसद श्रेष्ठले गुठी विधेयक जग्गासँग मात्र सम्बन्धित नभएकाले सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्नु नहुने तर्क समेत प्रस्तुत गरे ।विशेष समयमा नेकपा(नेकपा)का सांसद खगराज अधिकारीले गण्डकी प्रदेशद्वारका रुपमा रहेको पूल अहिले जीर्ण भई नाकाबन्दी हुन सक्ने अवस्थामा रहेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले लोक सेवा आयोगले समावेशी सिद्धान्त अनुसार विज्ञापन नगरेकाले उक्त विज्ञापन खारेज गर्नु पर्ने भन्दै विज्ञापन खारेज नभए फेरी देशमा आन्दोलन शुरु हुने भएकाले सचेत हुन सरकारलाई आग्रह समेत गरेका छन् ।
नेकपा(नेकपा)का सांसद महेश्वरजङ्ग गहतराजले तराई क्षेत्रका विभिन्न भूभागहरु भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकको कारणले गर्दा डुबानमा पर्न थालेकाले समस्या समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

विशेष समया नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट, सफारी बनाउने सोच गलत भएको भन्दै ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई पोस्न खोजेको आरोप लगाए ।

सांसद थापाले ऐनलाई छलेर चोरबाटोबाट कार्यविधि ल्याइएको भन्दै ससदीय समितिले गरेको निर्णय विपरीत उक्त कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई आग्रह समेत गरेका छन् ।

नेकपा(नेकपा)का सांसद पोल्देन छोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले सो ठाउँमा बेलीब्रिजको छिटो व्यवस्था मिलाउन माग गर्दै मनाङ जिल्लाको सदरमुकामको घट्टेखोलाको पूल समेत हाल जीर्ण अवस्थामा रहेकाले उक्त पूलको समेत जीर्णोद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

विशेष समया नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले कर्णाली प्रदेशका जनताको आय आर्जन बृद्धि हुने गरी सरकारले सिंचाईंको व्यवस्था मिलाउनुका साथै जल विद्युत आयोजनाहरुमा समेत स्थानीयवासीलाई शेयर दिनु पर्ने माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा समेत सांसदहरुले बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Comment here