फिचरराजनीति

टर्कीको सत्तारुढ पार्टी इस्तानबुलमा पराजित

अंकारा (एजेन्सी) । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ । मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन् । उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि पुनः मतदान भएको थियो ।

यो परिणामले राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको दलले राजधानीमा आफ्नो नियन्त्रण गुमाएको देखाएको छ । एक्रिम एमामोलुका प्रतिद्वन्द्वी रहेका देशका पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकारेका छन् ।

राष्ट्रपति एर्दोआनले विजेतालाई बधाई दिएका छन् । यो परिणामलाई एर्दोआनका लागि ठूलो राजनीतिक धक्काका रूपमा अथ्र्याइएको छ । कुनैबेला एर्दोआनले भन्नेगर्थे ‘जसले इस्तानबुलमा जित्छ, उसले टर्कीमा जित्छ ।’ निर्वाचित हुने निश्चित भएपछि आफ्नो भाषणमा एमामोलुले यो परिणाम सहर र देश दुवैका लागि नयाँ सुरुवात भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी इस्तानबुलका लागि नयाँ अध्याय सुरु गर्दैछौँ । जसमा न्याय, समानता र प्रेम हुनेछ ।’

अहिले इमामोग्लु र उनका प्रतिद्वन्द्वीबीच सात लाख ७५ हजारभन्दा बढीको मतान्तर छ । मार्च महिनामा उनले केवल १३ हजार मत बढी ल्याएका थिए । बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, ‘विपक्षीले इस्तानबुलमा नियन्त्रण जमाउन २५ वर्ष कुर्नुप¥यो । अहिले उनीहरूले त्यही उत्सव मनाइरहेका छन् । यो उनीहरूका लागि कोसेढुङ्गा बन्न सक्छ ।’

यसरी उत्सव मनाउने धेरैजसो युवाले आफ्नो जीवनकालमा एर्दोआनको एके पार्टीले मात्र शासन गरेको देखेका थिए । उनीहरूका लागि यो देशभरि परिवर्तनका लागि दबाव दिने अवसर बनेको छ । यो निर्वाचनलाई एर्दोआनको जनमतसंग्रहका रूपमा समेत हेरिएको थियो ।

इस्तानबुल राष्ट्रपति एर्दोआनको गृहनगर पनि हो । उनी सन् १९९४ मा इस्तानबुलको मेयर भएका थिए । उनले सन् २००१ मा एके पार्टी स्थापना गरे र राष्ट्रपति हुनुअघि सन् २००३ देखि सन् २०१४ सम्म देशको प्रधानमन्त्री थिए ।

एक्रिम एमामोलुले आफू राष्ट्रपति एर्दोआनसँग समन्वय गरेर काम गर्न तयार भएको बताएका छन् । पत्रकार एवं विश्लेषक मुरत यत्किन भन्छन्, ‘यथार्थमा एर्दोआन अझै राष्ट्रपति रहनेछन् । उनको गठबन्धनको अझै संसद्मा नियन्त्रण हुनेछ । तर धेरैलाई लाग्नेछ इस्तानबुलको यो पराजय उनको हारको सुरुवात हो ।’

Comment here