अर्थ/बजार

देवघाट क्षेत्र विकास समितिद्वारा १० करोड माग

देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । “यस वर्ष पूँजीगततर्फ रु ७५ लाख र चालूतर्फ रु २० लाख बजेट निकासा भएको हो, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भन्नुभयो, यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।

देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उहाँको माग छ । पौडेलले भन्नुभयो, “देवघाट क्षेक्र सरकारको नीति कार्यत्रम र बजेटमा प्रथामिकतामा अहिलेसम्म परेन, देवघाटको विकासका लागि छुट्टै ऐनको अभावमा समस्या खड्किएको छ ।”

“देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न रु छ अर्ब आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ”, उहाँले भन्नुभयो । गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट रु एक अर्ब, प्रदेश नं ३ बाट रु एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट रु एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताउनुभयो । रु तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

विसं २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उहाँ बताउनुहुन्छ । दश वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताउनुभयो । सबै पक्षको समझदारी, एकता र समन्वयबाट गुरुयोजनाअनुसारका काम अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वका योजना सम्पन्न गरिने बताउनुभयो ।

Comment here