स्वास्थ्य

बुद्धप्रतिको सम्मान,विचार जीवनशैलीमा ध्यान

बौद्ध धर्म यति ब्यापक र चर्चित हुनुका पछाडि बुद्धले प्रतिपादन गरेकोे ज्ञान नै मुख्य कारण हो । तर, सिद्धार्थ गौतमजस्तै बुद्धत्व प्राप्त गरेका अन्य ऋषि मनीषिहरु किन यति चर्चित भएनन् भन्ने कोणबाट हेर्दा बुद्धको फैलावटमा ज्ञानमात्रै कारण नरहेको स्पष्ट हुन्छ ।

बुद्धको देहवसान पश्चातको कालभन्दा जैन धर्मको प्रभाव बढी थियो । बुद्धभन्दा महावीरलाई पछ्याउने मानिस धेरै थिए । चाणक्यका चर्चित शिष्य अर्थात भारत वर्षका चर्चित राजा चन्द्रगुप्त राजाकाज छाडेर जैन साधु भएका थिए । उक्त समयमा बुद्ध ज्ञानको तीव्र प्रभाव निर्माण भइसकेको थियो भने उनी बौद्ध भिक्षु बन्न सक्थे ।

संसारमा सबैभन्दा छिटो फैलिएको धर्म ईस्लाम हो । समयका आधारमा हेर्ने हो भने ईस्लाम धर्मका प्रवर्तक पैगम्वर मोहमद सबैभन्दा छोटो कालखण्डमा ठुलो जनसंख्यालाई प्रभाव पार्ने धार्मिक गुरु हुन् । अरु धर्मको तुलनामा कान्छो धर्म मानिएको ईस्लाम आज संसारका प्रमुख धर्ममध्ये एक भइसकेको छ । करिब पन्ध्र सय वर्षको समयमा यति व्यापक भएको इस्लाम अबको पचास वर्षमा जनसंख्याको आधारमा संसारकै नम्बर वान धर्म बन्ने अनुमान गर्न थालिएको छ ।

इस्लाम यति धेरै फैलनुमा ईस्लामको ज्ञान र दर्शनको मात्र प्रभाव पक्कै होइन । ईस्लाममको शिक्षण पद्धति प्रभावकारी भएकाले यति ठूलो प्रभाव परेको होइन । बौद्ध र हिन्दु धर्म दर्शनसँग हजाराैं हजार ग्रन्थ छन् । तर, ईस्लामको कुरानबाहेक अरु एक दुई वटा धार्मिक ग्रन्थ मात्र प्रचलित छन् । एक दुई वटा ग्रन्थको ज्ञानले यति छिटो धर्म फैंलदैन ।

पैगम्वर मोहमदले आध्यात्मिकतासँगै धर्म राज्यको अवधारणा पनि अगाडि सारे । जसले गर्दा तरबारको बलमा राज्य स्थापित भयो र उक्त राज्यभित्र बस्ने नागरिक ईस्लाम बन्न बाध्य भए । ईस्लाम ज्ञानभन्दा पनि तरबारको बलले तीब्र रुपमा फैलिएयो ।

जनसंख्याको हिसाबले संसारको ठूलोे धर्म मानिएको इसाई एउटा कालखण्डमा युद्ध गरेर नै स्थापित भयो । तर, पछि जहाँ गरिब, पीडित र बहिस्कृतहरु छन् त्यहाँ सेवाको माध्यममार्फत ईसाई धर्म फैलियो । संसारभर स्थापित भएका मिसनरी अस्पताल र विद्यालयहरुले सम्बन्धित देश र समाजमा इसाई धर्मको प्रचार गरेको जगजाहेर नै छ । यसरी हेर्दा इस्लाम डरबाट फैलियो भने इसाई लोभबाट ।

बौद्धधर्म किन ब्यापक भयो ?

सिद्धार्थ गौतम प्रतिष्ठित राजपरिवारका राजकुमार थिए । उनको ज्ञानले अर्काे राजपरिवार वा राजालाई अपिल गर्न सजिलो भयो । बुद्धकै जीवन कालमा तत्कालीन कोशल नरेश प्रशेनजीत बुद्धका अनुयायी बनेका थिए । तत्कालीन मगध साम्राज्य सम्राट बिम्बिसार त बुद्धका अनुयायी मात्र बनेनन्ले उनले त बौद्ध संघलाई विस्तारित हुने आधारसम्म प्रदान गरे । यसरी राजाहरु नै बुद्धको अनुयायी भएपछि प्रजाहरुसम्म बौद्ध धर्म सजिलै पुग्यो ।

तत्कालीन भारत वर्षका सम्पूर्ण राजाहरु तरबारकाे आधारमा शक्तिशाली थिए । तर, ती राजाहरुलाई पनि ब्राम्हणहरुले सम्पूर्ण रुपमा प्रभावमा राख्ने गर्थे । राज्यको सम्पूर्ण नीति निर्माणको जिम्मा ब्राम्हणहरुको हातमै हुन्थ्यो । यस्ता ब्राम्हणलाई बुद्धले ज्ञान बलमा पराजित गरिदिए । बुद्धले कयौं ब्राम्हणसँग ज्ञानको विषयमा बहस गरेका थिए । उक्त बहसमा पराजित भएपछि हजारौं हजार शिष्य भएका ब्राम्हण गुरुहरु पनि बुद्धका अनुयायी बन्न पुगे । कतिसम्म भने बुद्धसँग साथीको रुपमा साधना गर्ने पञ्चभद्र वर्गीय ब्राम्हणहरु पनि पछि बुद्धका शिष्य बनेका थिए । यसरी शासकहरु अर्थात् तलवारको शक्ति र ब्राम्हणहरु अर्थात ज्ञानको शक्ति बुद्धको संगतमा आएपछि उनको सन्देश फैलन निकै सजिलो भयो ।

बुद्धको ज्ञानलाई विश्वविख्यात बनाउने मुख्य श्रेय अशोक सम्राटलाई नै जान्छ । इशापूर्व २६२ देखि २६१ मा भएको कलिंगको युद्धका क्रममा बगेको रगतको खोलाले अशोक सम्राटलाई बौद्ध धर्मको अनुयायी बन्ने प्रेरणा दियो । मौर्य सामराज्यका चक्रवर्ती सम्राट राजकाज छाडेर बौद्ध धर्मको प्रचारमा निक्लिए । आज बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक आधार तिनै अशोक सम्राटले लुम्बिनीमा राख्न लगाएको ढुङ्गे स्तम्भ नै हो । उनले ‘यहाँ बुद्ध जन्मिएका थिए’ भनेर स्तम्भमा लेख्न लगाएका कारणले नै हामीले बुद्ध जन्मस्थलको प्रामाणिक आधार प्राप्त गरेका छौं ।

अशोक सम्राट बौद्ध धर्मको ‘मिसनरी’ नै बनेर विभिन्न देश डुले । उनी बुद्ध धर्मको प्रचार गर्दै काठमाडाैंसमेत आएको इतिहास छ । यसरी उक्त युगको चक्रवर्ती सम्राटले नै सम्पूर्ण जीवन सुम्पिएर प्रचार गरेपछि बौद्ध धर्म सहजै फैलियो ।

बुद्धको समयमा हिन्दु धर्मको मुलपक्ष साधनाभन्दा पनि विश्वास, पूजापाठ, होम होमादी, प्रार्थना र स्तुतिमा केन्द्रित थियो । पूजा, पाठ र विश्वासले मात्र मानिस आध्यात्मिक रुपमा रुपान्तरित हुँदैन भन्ने ज्वलन्त उदाहरण हाम्रा घरघरमा दैनिक रुपमा हुने पूजापाठलाई नै लिन सकिन्छ । तर, बुद्धले अध्यात्ममा वा धर्ममा विधिलाई (Methodology) केन्द्रमा ल्याए । जसले अध्यात्म वा धर्म विश्वासभन्दा पनि अनुभवमा आधारित बन्न पुग्यो ।

हिन्दु सनातन धर्ममा निश्चित साधु, सन्त र साधकहरुमा मात्र सीमित योग, ध्यान र तन्त्र जस्ता साधना पद्धतिमध्ये ध्यानलाई बुद्धले आम मानिससम्म पु-याए । विश्वासमा भर पर्ने मानिसले अनुभवकै आधारमा ज्ञान, अध्यात्मलाई बुझ्न पाए । उनले प्रयोगमा ल्याएको विपाशना ध्यान विधिले हजाराैं जीवनमा परिवर्तन आयो । हिजो आस्था र श्रद्धामा आधारित धर्म मान्ने मान्छे आज बुद्धको साधना विधिमार्फत आफू बदलिएको महसुस गर्न सक्ने भएपछि बुद्धधर्मप्रति आम मानिसको झुकाव र आस्था बढ्नु स्वभाविक नै थियो । बुद्ध धर्म फैलनुको अर्काे महत्वपूर्ण कारण उनले प्रयोगमा ल्याएको ध्यान साधना विधि पनि हो ।

बुद्धले ज्ञान पाएको भनेको के हो ?

हामीले स्कुले पाठ्यपुस्तकदेखि नै राजकुमार सिद्धार्थले वैशाखे पुर्णिमाको दिन बोधगयाको पिपलको रुख मुनी ज्ञान प्राप्त गरे भन्ने पढ्दै र सुन्दै आएका छौं । यो ज्ञान पाएको भनेको के हो ? हामीले शिशु कक्षादेखि विश्वविद्यालयसम्म ज्ञान र सीप हासिल गर्नका लागि पढ्छौं । तर, बुद्धले आँखा चिम्लिएर पिपलको बोट मुनी बसेर ज्ञान पाए भनिएको छ ? यो भनेको के हो ? कसैसँग नसिकी वा नपढी सिद्धार्थ गौतमको मस्तिष्कमा कसरी ज्ञान अवतरित भयो ? यो विषयमा सामान्यत छलफल नै गरिँदैन । जसले गर्दा हामी आम रुपमा बुद्धले ज्ञान पाए त भन्छौं । तर, उक्त ज्ञान पाएको भनिएको के हो भन्ने विषयमा स्पष्ट हुन सक्दैनौं ।

बुद्धले ज्ञान पाएको के हो भन्ने सन्दर्भलाई आजको सूचना प्रविधिको विकाससँग सम्बन्धित एक दृष्टान्तमार्फत स्पष्ट पार्न सकिन्छ । उदाहरणक लागि, हामी अहिले हाम्रो मोवाइलमा संसार छ भन्न सक्छौं । अर्थात्, हामी हाम्रो सानो मोवाइलमार्फत संसारका विविधि विषयहरुमा तत्काल जानकारी हासिल गर्न समर्थ छौं । तर, डाटा अन नगरी वा वाईफाई नजोडी संसारको ज्ञान र सूचना हाम्रो मोवाइलमा डाउनलोड गर्न हामीले सक्छौं त ? अहँ, सक्दैनौं ।

अहिले हामीसँग रहेको मस्तिष्क डाटा वा वाइफाइ नजोडिएको मोवाइल जस्तै हो । जसमार्फत फोन गर्न, गेम खेल्न, हिसाब गर्नलगायतका काम गर्न मिल्छ । तर, संसारको अनन्त ज्ञानसँग ‘कनेक्ट’ हुन सकिन्न । ध्यान साधनामार्फत मस्तिष्कमा वाइफाइ वा डाटा निर्माण हुँदै जान्छ । जब पूर्ण वाइफाइ निर्माण हुन्छ त्यसपछि हाम्रो मस्तिष्कमा ब्रमाण्डका सम्पूर्ण ज्ञानहरु अवतरित हुन पुग्छन् । त्यही प्रकृयाको प्राप्तीलाई नै वैशाख पुर्णिमामा बुद्धले ज्ञान पाएको भनिएको हो ।

बुद्ध पुर्णिमाको दिन बोधगया मुनी सिद्धार्थलाई सबैभन्दा पहिला पूर्वेनिवास ज्ञान प्राप्त भएको थियो । पुर्वेनिवास अर्थात जन्मजन्मको ज्ञान । बौद्धग्रन्थहरुले सिद्धार्थलाई अघिल्ला पाँचसय जन्मको ज्ञान प्राप्त भएको उल्लेख गरेका छन् । बौद्ध शास्त्रअनुसार पाँचसय जन्म अगाडि दिपङ्कर भन्ने बुद्ध पुरुषलाई देखेर एकजना किशोरलाई आफू पनि उनी जस्तै बन्ने ईच्छा जाग्छ । सोही ईच्छाले उक्त किशोरले चारसय उनान्नसय पटक बोधिसत्वको रुपमा जन्म लिन्छ र पाँच सय जन्ममा सुद्धोदनको पुत्र भएर जन्मिन्छ ।

काभ्रे जिल्लामा रहेको प्रसिद्ध बौद्ध तीर्थ नमोबुद्धसँग सम्बन्धित कथामा महासत्व राजकुमारको प्रसंग आउँछ । उक्त राजकुमारले भोकाएको बाघलाई आफ्नो मासु काटेर खुवाएका कारण नमोबुद्ध प्रसिद्ध तीर्थ भएको बताईन्छ । ती बोधिसत्व राजकुमार पनि बुद्धको चारसय उनान्नसय जन्म मध्येको एक जन्म हो भन्ने मान्यता छ ।

जब बुद्धलाई आफ्ना पाँच सय जन्मबारे स्मृति भयो, तब आफू किन जन्मिएको ? आफूले गर्नु पर्ने के हो ? आफ्नो सामर्थ्य र गन्तव्य के हो? सबै थाहा भयो । तत्पश्चात् जीवनका सारा उल्झन, जिज्ञासा र भ्रमहरु हटेर गए । हामी बुढेकाल लागेको मानिससँग धेरै अनुभव छ भन्छौं । अर्थात् साठी सत्तरी बर्षको भोगाईमा मानिसले धेरै अनुभव हासिल गर्छ भन्ने हाम्रो बुझाई छ ? तर, मानिसले पाँचसय जन्मको स्मृति प्राप्त गरेपछि उसँग कति अनुभव प्राप्त भयो होला ? अनुमान गर्न नै मुस्किल पर्छ ।

पूर्वेनिवास ज्ञान अर्थात ‘फ्ल्याब्याक’ प्राप्त गरेपछि सिद्धार्थ गौतमले चार आर्य सत्य र आठ अष्टाङ्गिक मार्गको ज्ञान प्राप्त गर्छन् । संसार दुखमय रहेको, दुखको कारण रहेको, दुखबाट पार पाउने उपाय रहेको र पार पाउने मार्गहरु पनि रहेको ज्ञान चार आर्य सत्य हो भने दुखबाट पार पाउने आठ पद्धतिहरु नै अष्टाङ्गिक मार्गहरु हुन् ।

अष्टाङ्गिक मार्ग

बुद्धका अनुसार सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मांत, सम्यक आजीव, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि मार्फत मानिसले दुःखबाट मुक्ति प्राप्त गर्छ । सम्यक दृष्टिबाट सुरु भएर सम्यक समाधिसम्म पुगेपछि मानिसको दुख नास हुने हो ।
बौद्ध दर्शनका अनुसार आम मानिसको दृष्टि सम्यक अर्थात सन्तुलित छैन । यही असन्तुलनपूर्ण दृष्टिका कारण मानिस दुःखको चक्रब्यूहमा फँस्छ । जीवन भनेको दुःख हो भनेर नबुझ्नु सम्यक दृष्टि नहुनु हो । जीवन दूःखपूर्ण छ भन्ने नबुझेकै कारण मानिसलाई सम्पोत्ती आर्जन गरेपछि, सन्तान जन्माएपछि वा प्रतिष्ठा प्राप्त गरेपछि आनन्द प्राप्त हुन्छ भन्ने भ्रम हुन्छ । तर, यी सबै पाएर पनि मानिस दुखी नै छ ।

बाह्य संसारमा केही भएर वा पाएर सुखी हुँदैन भन्ने दृष्टिबाट निर्देशित हुनु नै सम्यक दृष्टि हो ।

दुखबाट पार पाउने अन्तिम मञ्जिल सम्यक समाधि अर्थात् ध्यान साधना हो । भौतिक दुःखमुक्ति विज्ञान र प्रविधिबाट संभव छ । तर, मानसिक दुखःमुक्तिका लागि ध्यान बाहेक अरु कुनै उपाय छैन ।

बुद्धको आर्य अष्टाङ्गिक मार्ग अन्तर्गतको सम्यक समाधिलाई अवलम्बन गर्नु नै बुद्धप्रतिको वास्तविक सम्मान अर्पण गर्नु हो। सन् १९८० देखि युरोप अमेरिकाका मनोविद् र अस्पतालहले ‘माईन्ट फुलनेस मेडिटेशन’लाई तीव्र प्रयोगमा ल्याएका छन् । माईन्ट फुलनेस मेडिटेशन’ बुद्धले प्रयोगमा ल्याउनु भएको विपाशना ध्यान विधि नै है । आज सिङ्गो विश्वले बुद्धको ध्यानविधिलाई उच्च महत्वका साथ जीवनमा कार्यान्वयन गरिरहेको छ । हामी पनि ध्यानलाई जीवनशैली बनाएर बौद्धमार्गको पथिक बन्न सक्छौं ।

Comment here